Tuesday, October 28

सरकारले मूल्य घटाउन निर्देशनबाहेक केही नगरेको उपभोक्ताकर्मीहरूको आरोप

गुणस्तर परीक्षण हुँदैन, मूल्य भने बढेको बढ्यै

मूल्य घटाउन निर्देशन दिँदै, पन्छिँदै सरकार

काठमाडौँ — सर्वसाधारणको भान्सामा प्रतिदिन प्रयोग हुने खाने तेलको मूल्य छोइनसक्नुभएको छ । चार महिनाको अवधिमा यसको मूल्य प्रतिलिटर ६० रुपैयाँसम्म बढेको खुद्रा व्यापार संघको तथ्यांक छ । अन्य खाद्यवस्तुको मूल्य स्थिर रहे पनि खाने तेलको मूल्य अचाक्ली बढिरहेको छ ।

‘कारण केही छैन । तर अन्तर्राष्ट्रिय बजारमा बढेको बहानामा मूल्यवृद्धि गरियो,’ खुद्रा व्यवसायी चन्द्र थापाले भने, ‘कोभिडको अवसर पारेर मनलाग्दी गरे । कोभिडले थलिएका सर्वसाधारणलाई यसले थप मार परेको छ ।’ मूल्यवृद्धि भए पनि सरकारी निकायले ध्यान दिएका छैनन् । न त गुणस्तर परिक्षणमै उनीहरूको चासो छ ।

२०७७ चैत १२ मा प्रतिलिटर २६० देखि ३०० रुपैयाँ पर्ने भुटेको तोरीको तेलको मूल्य अहिले ३२० देखि ३६० रुपैयाँ छ । प्रतिलिटर २०० रुपैयाँ पर्ने काँचो तोरीको तेलको मूल्य बढेर संघले २०७८ साउन १७ मा २६० रुपैयाँ तोकेको छ । भटमास र सनफ्लावरको तेल अनि डाल्डा घिउको मूल्य पनि अचाक्ली वृद्धि भएको संघले जनाएको छ ।

उद्योगीहरूले घट्ने बेला प्रतिलिटर ५ रुपैयाँ घटाए पनि बढ्दा एकै पटक १५ देखि २० रुपैयाँसम्म वृद्धि गरेको संघका महासचिव अमूलकाजी तुलाधरले बताए । ‘उचारचढावसँगै पछिल्लो निषेधाज्ञामा तेलको मूल्य सामान्य घटेको थियो । अहिले फेरि एक्कासि बढेको छ,’ उनले भने, ‘कारण नै छैन । हामीले सिधै फ्याक्ट्रीलाई सोध्न सक्दैनौं । तर होलसेलले फ्याक्ट्रीमै बढ्यो भन्छन् ।’ उद्योग र होलसेलमा मूल्य बढ्दा अनुगमन गर्ने निकाय भने चुप लागेको तुलाधरको आरोप छ । ‘लकडाउनका बेला कच्चा पदार्थ भित्रिएको थिएन । तर अन्तर्राष्ट्रिय बजारमा बढेको दाबी गर्दै मूल्य बढाइन्छ,’ उनले भने, ‘मूल्य बढ्नुको आधार, मापदण्ड के हो, त्यो नियमन हुनुपर्थ्यो । तर हुन सकेन ।’ २०७७ चैत ८ मा प्रतिलिटर २२० रुपैयाँ रहेको भटमास तेल २०७८ साउन १७ मा २३५ रुपैयाँ, प्रतिलिटर २२५ रुपैयाँ पर्ने सनफ्लावर तेल २५० रुपैयाँ पुगेको संघले जनाएको छ । १८० रुपैयाँको डाल्डा घिउ बढेर २२० रुपैयाँ पुगेको छ । केही पसलमा संघले निर्धारण गरेको मूल्यभन्दा पनि बढीमा बिक्री भइरहेको पनि उपभोक्ताकर्मी बताउँछन् । यद्यपि, नियामक निकाय भने मौन छन् । सरकारले मूल्य घटाउन निर्देशनबाहेक केही नगरेको उपभोक्ताकर्मीहरूको आरोप छ ।

उद्योगबाट मूल्य बढेपछि डिष्ट्रिब्युटर, होलसेल हुँदै खुद्रामा पनि मनलाग्दी भाउ पुग्छ । खाने तेल भारत निर्यात हुँदा यहाँ मूल्य बढेको होलसेल व्यवसायी सञ्जय फुयाँलले बताए । ‘बजारमा अभाव छ । किनभने सबै तेल भारत गइरहेको छ । फ्याक्ट्रीले भनेजत्तिकै तेल नदिँदा पनि बजार मूल्यमा असर परेको हो,’ उनले भने, ‘निर्यात रोकिँदा यहाँ घटेको थियो । अहिले फेरि बढ्यो ।’

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा भटमास खेती २६ हजार हेक्टरमा गरिन्छ । वार्षिक करिब ३४ हजार ४३४ टन उत्पादन हुन्छ । तेलहन (तोरी, आलस, सनफ्लावर) खेती २ लाख ६१ हजार ४३२ हेक्टरमा हुन्छ । यसबाट वार्षिक २ लाख ७४ हजार ५ सय ४ टन उत्पादन हुन्छ । उक्त उत्पादन स्वदेशी उपभोक्तालाई पुग्दैन, जसकारण उद्योगीहरूले कच्चा पदार्थ क्रुड सोयाबिन र सनफ्लावर तेल अनि तोरीको कच्चा पदार्थ आयात गर्छन् । उनीहरूले ब्राजिल, अर्जेन्टिना, क्यानडा, अस्ट्रेलिया, युक्रेनलगायत मुलुकबाट कच्चा पदार्थ ल्याउने गरेका छन् । त्यसलाई रिफाइन गरेर पुनः भारत निर्यात गर्छन् । निर्यात गर्दा राम्रो मूल्य पाउने हुँदा व्यवसायीहरू त्यतातर्फ आकर्षित भएका हुन्, जसले गर्दा यहाँ बजारभाउमा असर गरेको फुयाँलले बताए । २०७७/७८ मा ५३ अर्ब ३८ करोड ७८ लाख रुपैयाँको ४५ करोड २६ लाख २६ हजार ५ सय किलो भटमासको तेल कच्चा आयात भएको भन्सार विभागको तथ्यांक छ । आयातीत वस्तुमध्ये दोस्रो यो नम्बरमा छ ।

२०७६/७७ मा भने १८ अर्ब ७२ करोड ३६ लाख रुपैयाँको १९ करोड ९५ लाख ३६ हजार १ सय २६ किलो भटमासको कच्चा पदार्थ आयात भएको थियो । तथ्यांकअनुसार निर्यातमा भटमासको तेल पहिलो नम्बरमै छ । २०७७/७८ मा ५३ अर्ब ६५ करोड १६ लाख रुपैयाँको २९ करोड ८० लाख ४३ हजार किलो भटमास तेल निर्यात भएको छ । जब कि अघिल्लो वर्ष १२ अर्ब ६९ करोडको निर्यात भएको थियो । मूल्यको विषय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हेर्छ । गुणस्तर भने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ल्याब परीक्षणमार्फत गर्नुपर्छ । तर यी विभाग सक्रिय नहुँदा मूल्यसँगै गुणस्तरमा पनि प्रश्न उठेको जानकारहरू बताउँछन् ।

यता खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहन महर्जनले भने गुणस्तर परीक्षण गर्ने गरिएको दाबी गरे । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता शिवराज सेढार्इंले पनि व्यवसायीसँग अनौपचारिक छलफल गर्दा अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएकै कारण मूल्य बढाउनुपरेको स्विकारे । तर यसबारे विभागले अध्ययन गरिरहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *