काठमाडौं : जनगायक जुठबहादुर टुहुरे खड्गी (जेबि)को निधन भएको छ। उनको काठमाडौंको बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको अस्पताल स्रोतले जनाएको छ। उनी मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोगी थिए।
मंगलबार स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि बयोधा अस्पताल लगिएको थियो। संविधानसभा सदस्य समेत रहेका टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा राखिने जनाइएको छ।
उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ।
डेढ सयभन्दा बढी गीत गाएका टुहुरेका सबैभन्दा चर्चित गीत- ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर’, ‘बसाइँ हिँड्नको ताँतीले बस्नेको मन रुँद छ, लाखौंको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ’, ‘छोराहरु हो, छोरीहरु हो बीर छोरा छोरी हो’, ‘दुःखको बोझलाई बिसाउन चौतारी बनाउँ है’ लगायत छन्।
