Tuesday, October 28

काठमाडौंमा साझा यातायातका विद्युतीय बस औपचारिक रूपमा सञ्चालन

काठमाडौँ — साझा यातायातका तीन वटा विद्युतीय बस औपचारिक रूपमा सञ्चालनमा आएका छन् । पुल्चोकस्थित कम्पनी परिसरमा बिहीबार साझाका संस्थापक अध्यक्ष विश्वबन्धु थापाले बस उद्घाटन गरे । पहिलो चरणमा तीन वटा विद्युतीय बस परीक्षणका रूपमा सञ्चालनमा ल्याएको साझाले दसैंअघिसम्म ३७ वटा बस ल्याउने जनाएको छ ।

साझाका विद्युतीय बस २ वटा रुटमा चल्नेछन् । एउटा बस लगनखेल–जावलाखेल–त्रिपुरेश्वर–लैनचौर–बाँसबारी हुँदै बूढानीलकण्ठसम्म चल्नेछ । अर्का दुई बस माछापोखरी–बालाजु–सोह्रखुट्टे, पुरानो बसपार्क–माइतीघर, तीनकुने हुँदै एयरपोर्टसम्म चल्नेछन् ।

पहिलो चरणमा ल्याइएको ८.५ मिटर लम्बाइको बसको मूल्य झन्डै डेढ करोड रुपैयाँ रहेको साझाले जनाएको छ । विद्युतीय बस चीनको नान्जिङ सहरमा निर्माण भएको ‘सीएचटीसी’ कम्पनीको हो । दोस्रो चरणमा १० देखि १२ मिटर लम्बाइको विद्युतीय सहरी बस तथा लामो दूरीको विद्युतीय बस खरिद प्र्रक्रिया अघि बढिसकेको समेत साझाले बताएको छ । कम्पनीले ल्याएका बसमा १६१.२८ किलोवाट क्षमताको लिथियम आयन फोस्पेट ब्याट्री जोडिएको छ भने १६५ किलोवाट क्षमताको मोटर राखिएको छ । यो गाडी ४५ किलोवाटको चार्जरमा ५ घण्टा चार्ज गर्दा २ सय किमि गुड्न सक्ने साझाले जनाएको छ ।

कम्पनीले सञ्चालनमा ल्याएको बसमा चालकसहित २६ सिट क्षमता छ । गाडीमा दुई ढोका छन् । पछाडिको ढोकाबाट ह्विलचियर प्रयोगकर्तालगायत अपांगता भएका व्यक्तिले सहजै आवतजावत गर्न सक्नेछन् । बसमा अपांगता भएका व्यक्तिका लागि छुट्टै ठाउँ छन् । ह्विलचियर प्रयोगकर्ता नभएको खण्डमा सामान्य मानिस पनि सिटमा बस्न सकिने व्यवस्था छ । बसमा वाईफाई, टीभी, सिट बेल्ट, सीसीटीभी क्यामेरालगायत अत्याधुनिक सुविधा छन् । बसमा महिला चालक र सहचालकलाई विशेष प्राथमिकता दिइएको साझाले बताएको छ ।

अर्थतन्त्र, वातावरण तथा यात्रुको सुविधालाई दृष्टिगत गरी विद्युतीय परिवहनमा लगानी गरेकाले साझा यातायात सरकारसँग कृतज्ञ रहेको साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले बताए । ‘बिजुली बसका लागि ठूलो क्षेत्रफल भएको चार्जिङ स्टेसन आवश्यक पर्छ । यसका लागि सरकारसँग आग्रह गरिसकेका छौं,’ उनले भने, ‘यथाशीघ्र चार्जिङ स्टेसनका लागि जग्गा उपलब्ध हुनेमा आशावादी छौं ।’ निजी क्षेत्रले सार्वजनिक यातायातको ठूलो हिस्सा ओगटेको हुँदा सरकारले बिजुली बस सञ्चालनमा ल्याउन सहुलियत ऋण उपलब्ध गराउनसमेत उनले सुझाए । सरकारले विद्युतीय बस खरिद गर्न साझा यातायात सहकारीमा ०७६ असारमा ३१ मा ३ अर्ब लगानी गरेको थियो । लगानी आउनासाथ साझाको विशेषज्ञ टोलीले अनुसन्धानसमेत सुरु गर्‍यो । काम सुरु गरेको २८ दिन नपुग्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट ‘सबै कार्य स्थगित गर्नू’ भन्ने पत्र आइसकेपछि काम रोकिएको थियो । त्यसको १६ महिनापछि ०७७ फागुनमा मन्त्रालयले पुराना अवरोध हटाएपछि कम्पनीले विद्युतीय बस खरिद प्रक्रिया अघि बढाएको थियो ।

पहिलो चरणमा साझाले ४० वटा बस खरिदका लागि सार्वजनिक टेन्डर आह्वान गरेको थियो । उक्त टेन्डरअन्तर्गत ४० वटा बसमध्ये तीन बस गत वैशाखमा काठमाडौं भित्रिएका हुन् । काठमाडौं आइसकेका विद्युतीय बसलाई वाग्मती प्रदेश यातायात कार्यालयको विज्ञ टोलीले विस्तृत अध्ययन गरी असार २ मा स्वीकृतिपत्र दिएको हो । त्यसपछि असार ७ मा सञ्चालक समितिको निर्णयअनुसार यातायात कार्यालयमा दर्ता गरी बाटो इजाजतपत्र लिइएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *